
पोलिथिन ब्याण्ड (हाँस्य रसको कथा)
हाँस्य कथा
चुर्सेकी आमा र मेरो झगड़ा परालको आगो जतिकै छ । हुनु पनि हामी दुइ बुड़ा-बुडी गफगाफ गरेको हो की ठाकठाक ठुकठुक परेको पत्तै हुँदैन । बोली अलि खस्रो भए पनि चुर्सेकी आमाको मनमा पाप चाहिँ छैन । अहिले उसलाई बजार जान हतार छ अनि धुइँ-धुइँ त्यो कुन्नि कुन स्टोरको बुट्टादार पोलिथिनको झोला खोज्दैछे। म चाहिँ यस्तो पोलिथिन भेट्यो कि लुकाइदिन्छु । मैले त्यो पोलिथिन लुकाएको कुरा थाहा पाएकीछिन् कि कसो ठूल्ठूलो स्वरमा भित्रबाट बोल्छे “चुर्सेको बाबा! तपाईंले त्यो पोलिथिन देख्नु भयो ? अस्ति मैले यही ओछ्यान मुनि राखेको थिए । तपाईंले कतै राखिदिनु भयो कि ।”
“त्यो भित्र भान्सा कोठामा भएको सुतीको झोला लैजाउन। मैले तिम्रै लागि भनेर किनेर ल्याएको ।”
“आ…त्यस्तो झोला बोल्दिन है म। लाजै मर्दो । त्यही पोलिथिनको झोला दिनुहोस कहाँ लुकाइदिनु
‘भा’छ।”
उसको यो ‘लाजै मर्दो’ कुराले मेरो कन्सरी तातेर आयो र माइक्रोफोनमा बोल्ने जति कै स्वरमा चिच्याउँछु “केको लाज त्यो झोला बोक्नु ? तिमीलाई थाहा छ । यो हेर्दा राम्रो देखिने पोलिथिनले कति हानि पुयाउँछ भन्ने कुरा ।”
म चिच्याएको मात्र कै थिए, मेरो भन्दा सुरिलो स्वरमा कराउँछे “यो मान्छेलाई थाहा हुँदो रहेछ कसैलाई थाहा नभा’को फाइदा- नोक्सान । सवैले त्यही पोलिथिन बोकी राखेका छन् । कसैलाई हानि भएको छैन । अब तिमीलाई हुँदोरहेछ हानि र सानी…।”
चुर्सेकी आमाको यही बानी चाहिँ मलाई मन पर्दैन । अलिकति रीस उठ्यो कि तपाईदेखि तिमी अनि एकैछिनमा तँ पनि भन्छे।
कहिलेकाही त म उसलाई तिमी भन्दै गरेको हुन्छु अनि उसले मलाई तँ । अब राति उँधो भए त ठीकै थियो। दिउँसोको झगडा श्रीमतीले ‘तँ’ भन्दै गरेको कोही साथीभाइले सुने आफैलाई लाज ।यसैले म आफै नरम हुँदै सम्झाउँछु
“होइन चुर्सेकी आमा! मैले त्यसो भनेको होइन नी । यो पोलिथिन भन्ने चीज बारे मैले तिमीले अनि हामी सबैले जान्नु जरूरी छ । यस चीजको प्रयोग पछि हामी यसलाई यत्र-तत्र फ्याँक्छौं। तर यो कहिले नकुहुने बस्तु भएकोले माटो मुनि गाडिन पुग्छ। जसको कारण वारीले मलिलोपन गुमाउँछ । धेरै पोलिथिन माटोमुनि गाडिएर बसे पहाड़तिर पैह्रो जाने खतरा बढ्छ अझ यस्ता हावी जावी के-के छन् छन् । “
मेरो कुरो बीचैमा काट्दै नेताले भाषण दिए जतिकै बोल्छे चुर्सेकी आमा- “अँ थाहा छ मलाई पनि । यो कहिल नकुहुने भएकोले नालातिर गएर बस्छ अनि नाला जाम हुन्छ। पानी पनि दुषित हुन्छ,पानीको मुहान सुक्न पनि सक्छ अनि यसलाई जलाए यसबाट निस्केको धुँवाले वातावरणलाई
पनि उत्तिकै प्रदुषित पार्छ।”
” अरे तिमीलाई त भलाई भन्दा धेर
थाहा छ? मेरो चुर्सेकी मम्मी पनि यति ज्ञानी भएको मलाई के थाहा। कसले बतायो यो सब तिमीलाई ?”
चुर्सेकी आमालाई फुरुक्कै पार्दै प्रश्न तेर्साउछु। अघि निकै चर्किने श्रीमती अहिले नर्मल हुँदै मीठो स्वरमा बताउँछिन् “तपाई भन्नु हुन्छ नि। हामी महिलाहरु टिभीमा मात्र सिरियल हेर्छौ भनेर। तर यही टिभीको कतिवटा कार्यक्रमले सिकाएको हो यो सब मलाई।”
“यतिका धेरै कुराहरु जान्दाजान्दै पनि किन तिमी फेरि यही पोलिथिन नै रोज्छौ त?”
“अनि हामी एक घरले पोलिथिन नचलाएर हुने त होइन नि। सबैले पोलिथिन प्रयोग गर्न छाडे पो।”
उसका कुरा स्वभाविक हो। उसको यस्ता स्वभाविक कुराको नरम स्वरमा उत्तर दिन्छु
“सबैले प्रयोग गर्न छड्नको निम्ति त पहिले मैले तिमीले यस चीजको प्रयोग गर्न छाड्न पर्यो नि!यसैले यस्तो सचेत कुराको क्रान्ति त सर्वप्रथम आफैमा ल्याउनु पर्छ।”
“अनि कहिलेकाहीँ कतैबाट आएको पोलिथिनलाई चाहिँ के
गर्नु ?”श्रीमतीको प्रश्न ।
हामी नेपाली जाति शीपको साह्रै धनी । परालको गुन्द्री, खोसेलाको पीरा आदि बनाउने कला हामी कहाँ छ भने यस्तै कलाको प्रयोग यो पोलिथिनमा गरे विभिन्न थोक बन्न सक्छ। यसैले यस्तो पोलिथिन जहाँ पायो उहीं फ्याक्नु भन्दा यस्ता चीजहरू बनाउनु राम्रो हुन्छ । फेरि यस्ता थोक बनाउने एउटा केन्द्र नै खोले दुइ-चार जनालाई रोजी-रोटी पनि बन्न सक्छ।”
चुर्सेकी आमाले कुरा बुझेछिन् क्यार । यसैले त भित्र भान्साकोठावाट त्यही सुतीको झोला बोकेर बजारतिर लाग्नु अघि बोल्छे “यो घरमा आजदेखि पोलिथिन व्याण्ड…।”

बिहेको कुरो हुँदाहुँदै पनि भोकहरूसित सम्झौता गरेकी थिइन देविकाले । उसलाई ज्ञात थियो सपना जति सजिलै देखिन्छ विपना त्यति नै गाह्रो भोगिन्छ । बिहे हुनुअघि सपना नदेखेकी पनि होइन उसले । धेरै सपना बुनेकी थिई । तर यथार्थसित उसले सपनाको सम्झौता गरिन् । यसरी वर्तमानमा उसले दाम्पत्य जीवनमा सुरजलाई भने सम्मको साथ दिन्छे ।
एकपटक त्यस्तै कुरामा बिहेअघि आमासित चित्त दुखाई प्याच्चै भनेकी थिई, ‘बिहे गरेर गएपछि तिमीहरूको आँगनमा टेक्दा पनि टेक्दिनँ ।’
देविकाको यस वाक्यले उसलाई मुखाली पुष्टि गर्यो । एसो बुझ्दा ऊ मुखाली कहिल्यै थिइन र आज पनि छैन । उसको यो भनाइमा त उसले आफ्नो सपना दर्शाएकी थिई । एउटी अविवाहित नारीले दाम्पत्य जीवनको मीठो सपना देखे सरी उसले पनि देखेकी थिई सपना… ।
सुरजसित उसको बिहे भयो । बिहेपछि उसको सपना,
सपना नै रह्यो वा विपना, त्यो त देविका बाहेक उसको पति सुरजलाई पनि थाहा नहोला ।
सुरज राम्रो लेखक, कहलिएको कवि, समाजमा नाम भएको मान्छे ! तर यो समाजमा कवि पेशा होइन रहेछ । पेशाले सुरज बेरोजगार । जिन्दगीको विविध रङसँग सम्झौता गरेर सुरजलाई अपनाए पनि देविकाले भोकहरूसित सम्झौता कहिल्यै गरेकी थिइन । यद्यपि उसको दाम्पत्य जीवनको कतिपय दिन भोकभोकै बिते ।
विभिन्न पत्र पत्रिकाको नियमित नाम सुरजको कविताले यो समाजमा निकै भाउ पाए पनि आजसम्म व्यावसायिक रूपले उसको कविताले भाउ पाएको छैन । ऊ आफै पनि आफ्नो साहित्यलाई व्यावसायिक बनाउन चाहँदैन । उसको साहित्यप्रतिको लगन र मायाले सफल लेखक भए पनि दाम्पत्य जीवन ओभानै छ उसको ।
यस्तो स्थितिमा देविकाले भोकहरू कति सहिन् कति । भोकै सुत्थी देविका तर पतिलाई विरोध गर्दिन थिई । पतिको विरोध नगर्नु उनको बाध्यता हो वा पतिव्रता, या त माया, यो उसैले मात्र जान्दछे ।
आज पनि देविका चिसो चूह्लोअघि बसेकी छे । भाँडाहरू रित्ता छन् । उसका आँखा भने अविरल बगिरहेछ मेची महाकाली सरह । सुरज घर आइपुगेको छैन । निकै बेरपछि कोठामा चुरोटको गन्ध पस्छ । चुरोट गनाउनु सुरजको आगमनको सूचना हो । पछि फर्केर हेर्छे सुरजलाई । पलङमा बसी सरसर फुक्दैछ चुरोट । यतिका दिनसम्म ठूलो स्वरमा नबोलेकी देविकाले अचानक भयानक रूपमा बोल्छे, “कति दिन चल्छ यसरी ?”
चूपचाप टोलाइदिन्छ सुरज, जवाफ दिन उचित नठाने जस्तो गरी । अझ कर्कश स्वरमा थप्छे देविका, “खै के गर्यो तपाईंको कविताले ? सुतिरहेकालाई जगायो, अनि कतिको भोक मेटायो तपाईंको कविताले ?”
“तिमीलाई बोल्न सिकायो मेरो कविताले,” गम्भीर उत्तर दिन्छ पत्नीलाई सुरज ।”तपाईंका यो दार्शनिक अनि भावनात्मक जवाफले मेरो भोक मेट्दैन । शायद तपाईंलाई थाहा छैन तपाईं जति नै जगाउन खोज्नुहोस्, सुतेकाहरू उठ्दैनन् । उनीहरूलाई सपनासित खेल्ने बानी परिसकेको छ अनि जसले झकझकाए पनि सपना देख्नहरू सुती नै बस्छन् । तपाईं जति नै लड्नुहोस्, भोकहरू विद्रोह बोल्दैनन् । विद्रोह गर्ने आँट उसैले मात्रै गर्छ जसको भकारी सुरक्षित छ, जसको पेटमा टन्न छ अन्न ।”
पतिको छोटो जवाफलाई आज जीवनमा पहिलो पटक जमेर विरोध गर्छे देविका । तर पत्नीको विरोधात्मक स्वरहरू सुरजको कानबाट छिरेपछि उल्टै समर्थनमा बोलिदिन्छ सुरज, “यही त म बुझाउन चाहन्छु देविका ! तर तिमीले बुझेको कुरा अरूले किन बुझ्दैनन् ? भोकहरूले पनि क्रान्ति गर्नुपर्छ, विद्रोहात्मक शब्दहरू ओकल्नुपर्छ । कसैको पेटमा मात्र होइन भकारीभरि नै अन्न हुन्छ भने कसैलाई एक पेट समेत अन्न हुन्न । भोकहरू भकारी विरुद्ध उठ्नुपर्छ, देविका ! उठ्नुपर्छ ।”
“शब्द पोख्न जति सजिलो छ जीवनमा त्यसलाई उतार्न त्यति नै गाह्रो छ । तपाईंका शब्दहरू सोह्रै आना सत्य भए पनि आज तपाईंको घरमा दुई भोक छन् जुन भोकमा अन्न भर्ने जिम्मा तपाईंले लिनुभएको छ,” देविका अझ आगो बन्छे ।
“तिमी र म ?”
“तपाईं भोकै हुनुहुन्छ भन्ने म पत्याउँदिनँ । यदि भोको हुनुहुँदो हो त भोकको मर्म बुझ्नुपर्ने ।”
“त्यसो भए तिमी बाहेक को भोकै छ यस घरमा ?”
“यदि भोक तपाईंको घरको यथार्थ हो भने म हुँ तपाईंको घर । तर तपाईंको घर मात्र होइन तपाईंको भविष्य पनि भोकै छ आज ।”
“तिमीले भन्न खोजेको मैले केही बुझिनँ प्रष्ट भन ।”
“तपाईंले भन्न खोजेको पनि त यो समाजले बुझ्दैन । हुन सक्छ बुझेर पनि अबुझ बन्छ । तर यो प्रष्ट बताइदिएकी छु तपाईंको भविष्य भोकै छ आज मभित्र ।”
“किन तिमी कुरा घुमाउँदैछौ ? स्पष्ट बोल ।”
“म बाहेक मेरो पेटमा हुर्किरहेको तपाईंको बच्चा भोकै छ आज । अब कविता कोरेर भोकहरूलाई भकारी विरुद्ध आवाज उठाउन लाउने हो कि आफ्नो भविष्यको पेट भर्ने हो तपाईं नै जान्नुहोस् ।”
देविका आफ्नो तर्कको निष्कर्ष नलिई अर्को कोठातिर लाग्छे । आफ्नो सन्तान देविकाको पेटमा हुर्कंदै गरेको चाल पाएर आनन्दमय बन्छ सुरज र पत्नीको पेट छाम्न लाग्छ । तर पत्नीको पेटमा आफ्नो सन्तान मात्र होइन भोक पनि छ भन्ने आभास गरेर फुत्त बाहिरिन्छ अनि केही क्षणमा खानेकुरा लिएर आइपुग्छ सुरज ।
अचेल सुरजले कविता लेखनीबाट टाढिएकोछ । गुमनाम छ कविताको संसारबाट सुरज । उसलाई आफ्नो भविष्य बनाउने प्रखर भोक छ साथै कविता लेख्ने भोक पनि उत्तिकै दबिएर रहेको छ । देविकाको पेटको भोक मेटिए पनि छोरालाई डाक्टर बनाउने भोकको लागि निरन्तर तल्लीन नै भइरहन्छ ।
दिपेन्द्र आचार्य “सुमी”
इलाम